काठमाडौं। बायर्न म्युनिखका स्टार खेलाडी थोमस मुलरले आफ्नो करिअर अन्त्य गर्ने संकेत गरेका छन्।
३५ वर्षीय मुलरको सम्झौता जुन महिनासम्म मात्र बाँकी छ तर, क्लबले उनको सम्झौता नवीकरण नगर्ने खबर बाहिरिएको छ।
बायर्नले ठूलो तलब बचत गर्न उनीसँग नयाँ सम्झौता नगर्ने निर्णय गरेको हो। मुलरले सन् २००८ मा बायर्नबाट डेब्यू गरेका थिए, जुनर्गेन क्लिन्समनको प्रशिक्षणमा।
उनको ब्रेकथ्रु सिजन लुइस भान गालको नेतृत्वमा सन् २००९–१० मा भएको थियो। त्यसपछि उनले क्लबको लागि ७४२ खेल खेल्दै २४७ गोल गरिसकेका छन्।
मुलरले कीर्तिमानी १२ बुन्डेसलिगा उपाधि र दुई च्याम्पियन्स लिग जितेका छन्। उनी अझै पनि थप उपाधि जित्न सक्छन्। बायर्न बुन्डेसलिगामा ६ अंकको अग्रता लिएर शीर्ष स्थानमा छ। साथै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इन्टर मिलानसँग खेल्ने तयारी गरिरहेको छ।
मुलरले यो सिजन बुन्डेसलिगामा २३ खेल खेलेका छन्। तर, १५ पटक उनी वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका छन्। च्याम्पियन्स लिगमा १० खेलमा मात्र तीन पटक सुरुआत गर्न पाए।
पछिल्ला खेलहरूमा उनी मैदानमा अन्तिम केही मिनेट मात्र खेल्ने गरेका छन्। सेन्ट पाउलीविरुद्ध उनी ८५औं मिनेटमा र स्टुटगार्टविरुद्ध ८७औं मिनेटमा मैदान छिरेका थिए।
बायर्नका स्पोर्टिङ डाइरेक्टर म्याक्स एबरलले दुई हप्ता अघि मुलरका एजेन्टलाई क्लबले सम्झौता नथप्ने निर्णय गरेको जानकारी गराएका थिए। तर, म्यानुएल नोयर, अल्फोन्सो डेभिस, जमाल मुसियाला र जोसुआ किमिखले भने नयाँ सम्झौता गरिसकेका छन्।
मुलर अझै एक सिजन खेल्न चाहन्थे। तर, क्लबले छोटो अवधि सम्झौता दिए मात्र उनी यस समरमा अमेरिकामा आयोजना हुने क्लब विश्वकप खेल्न सक्नेछन्।
मुलरले २०२३ को युरोपियन च्याम्पियनसिपपछि जर्मनीको राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए। उनले १३ नम्बरको जर्सी लगाउँदै जर्मनीका लागि १३१ खेल खेलेका थिए, जुन उनले आफ्नो भाग्यशाली नम्बर भनेका थिए।