बाँके। जनजागृति युवा क्लब, बर्दियाले दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगिता जितेको छ।
शुक्रबार सम्पन्न फाइनलमा बर्दियाले फर्सासटकर युथ क्लब, रुपन्देहीलाई १–० ले पराजित गरेको हो। बर्दियालाई उपाधि दिलाउन सुनील आले मगरले गरेको गोल नै निर्णायक बन्यो।
उनले खेलको २४औं मिनेटमा गोल गरेका हुन्।
चैत २ गतेदेखि सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका बर्दिया र रुपन्देहीसहित नवलपरासीको राइजिङ स्टार फुटबल क्लब, बाँकेको धम्बोझी क्लब, दाङको न्यु स्टार फुटबल एकेडेमी, कपिलवस्तुको गोल्डेन स्टार युवा क्लब र पाल्पाको न्यु युथ युनियन क्लबको सहभागिता थियो।
समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै रुपन्देही र अर्को समूहको शीर्ष स्थानमा रहँदै जनजागृतिले फाइनलमा भेट पक्का गरेको थियो ।
विजेता टिम र खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दीर्घबहादुर केसी कुमार सहितका अतिथीहरुले पुरस्कृत गरेका थिए ।