काठमाडौं। इन्टर मिलनले सिरी ‘ए’ उपाधि रक्षा गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ। शीर्ष स्थानको भिडन्तमा इन्टरले एटलान्टालाई २-० ले हराउँदै लिगको अग्रता तीन अंकले बलियो बनाएको छ।
इन्टरका लागि दोस्रो हाफमा कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे। यो जितसँगै इन्टरले (६४) दोस्रो स्थानको नापोली (६१) लाई तीन अंकले पछि पारेको छ भने तेस्रो स्थानको एटलान्टा (५८) ६ अंकले पछाडि परेको छ।
यसअघि नै नापोली रेलिगेसन क्षेत्रको भेनिसविरुद्ध ०-० को बराबरीमा रोकिएको थियो। बर्गामोमा भएको खेलको विजेताले लिगको शीर्ष स्थानमा दबाब बढाउने सम्भावना थियो। एटलान्टाले जित निकालेको भए इन्टर र नापोलीसँग समान अंक हुन्थ्यो।
खेल निकै रोमाञ्चक रह्यो। पहिलो हाफमा दुवै टोलीले उत्कृष्ट अवसर सिर्जना गरे। सातौं मिनेटमै इन्टरका मार्कस थुरामले गोल गर्ने अवसर पाए। लउटारो मार्टिनेजसँग राम्रो समन्वय गर्दै उनले गोलकिपर मार्को कार्नेसेक्कीलाई पार गर्दै प्रहार गरे। तर, बल दायाँ पोस्टमा लागेर फर्कियो।
अर्कोतर्फ इन्टरका गोलकिपर यान सोमरले मारीयो पासालिचको हेडरलाई उत्कृष्ट बचाउ गर्दै बारमाथि फालिदिए। ५४औं मिनेटमा इन्टरले खाता खोल्यो। दर्शकदीर्घामा एक समर्थकलाई आकस्मिक स्वास्थ्य समस्या देखिएपछि खेल केही समय रोकिएको थियो। पुनः सुरु भएपछि दायाँ कुनाबाट आएको कर्नरमा कार्लोस अगस्टोले हेड गर्दै बललाई बायाँ कुनामा पठाए। इन्टरका लागि उनको यो तेस्रो गोल थियो।
७१औं मिनेटमा लउटारोले अर्को गोल गरेका थिए। तर, रेफ्रीले पहिल्यै फाउल दिएको हुँदा गोल मान्य भएन।
एटलान्टाका लागि अवस्था झन् बिग्रियो। ८१औं मिनेटमा मिडफिल्डर एडर्सनले रेफ्रीसँग असन्तुष्टि जनाउँदै व्यंग्यात्मक ताली बजायपछि दोस्रो पहेँलो कार्ड पाए र बाहिरिए। प्रशिक्षक जियान पिएरो गास्पेरिनीले पनि रेफ्रीको निर्णयको विरोध गर्दा रातो कार्ड पाए।
८७औं मिनेटमा लउटारोले दोस्रो गोल गर्दै इन्टरको जित सुनिश्चित गरे। खेलको अन्त्यतिर इन्टरका डिफेन्डर एलेसान्द्रो बास्तोनी पनि दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए।
नापोली फेरि बराबरीमा रोकियो
नापोलीले पछिल्ला सात खेलमध्ये पाँच खेल बराबरी खेलेको छ।खेलको चौथो मिनेटमै नापोलीका जियाकोमो रास्पादोरीले उत्कृष्ट अवसर पाए। तर, उनको प्रहार बायाँ पोस्टमा लागेर फर्कियो।
भेनिसाले पनि राम्रो अवसरह सिर्जना गर्यो। पहिलो हाफको अन्त्यतिर किके पेरेजको प्रहार नापोलीका गोलकिपर एलेक्स मेरेटले बचाए भने ड्यानियल फिलाको रिबाउन्ड प्रहार नापोलीका डिफेन्डर आमिर रहमानीले गोललाइनबाट क्लियर गरे।
पहिलो हाफ सकिन केही सेकेन्ड बाँकी रहँदा नापोलीका रोमेलु लुकाकुले हेडरमार्फत गोल गर्ने मौका पाएको थियो। तर, भेनिसाका गोलकिपर इओनुत रातुले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन्।
यो भेनिसाका लागि लगातार चौथो बराबरी हो। यसअघि टोलीले एटलान्टा र लाजियोसँग पनि बराबरी खेलेको थियो। तर, लिग तालिकामा भेनिसा रेलिगेसन जोनमै रहेको छ।