काठमाडौं। बुन्डेसलिगामा बायर लेभरकुजेनले आफ्नो पुरानै अन्तिम क्षणको म्याजिक पुनः जीवित पार्दै आइतबार स्टुटगार्टविरुद्ध ४–३ को रोमाञ्चक पुनरागमन जित निकालेको छ।
३–२ ले पछि परेको अवस्थामा लेभरकुजेन आफ्नो चौथो लगातार हारको संघारमा थियो। तर, ८८औं मिनेटमा भिक्टर बोनिफासको पास एन्जेलो स्टिलरको खुट्टामा लागेर आफ्नै पोस्टमा गएपछि खेल ३–३ को अवस्थामा पुगेको थियो। त्यसपछि जेरेमी फ्रिमपोन्गको क्रसलाई पाट्रिक शिकले चौथो इन्जुरी मिनेटमा हेड गर्दै निर्णायक गोल गरे।
‘कहिलेकाहीँ यस्तो जितले तपाईको टिम स्पिरिट अझै बाँकी रहेको प्रमाणित गर्छ,’ लेभरकुजेनका डिफेन्डर जोनाथन टाहले भने।
यो जितले लेभरकुजेनलाई गत सिजनको बुन्डेसलिगा उपाधि जित्दा देखिएको अन्तिम क्षणको पुनरागमन क्षमताको सम्झना दिलायो। साथै, दोस्रो स्थानमा रहेको लेभरकुजेन र शीर्ष स्थानको बायर्न म्युनिखबीचको अंक दूरी ६ मा झारेको छ। शनिबार बायर्नले युनियन बर्लिनसँग १–१ को बराबरी खेलेको थियो।
‘हामी अन्तिमसम्म बायर्नलाई दबाबमा राख्न चाहन्छौं,’ लेभरकुजेनका मिडफिल्डर रोबर्ट आन्द्रिचले भने।
स्टार मिडफिल्डर फ्लोरियन विर्ट्ज घाइते भएपछि प्रशिक्षक जाबी आलोन्सोले टिमको रणनीतिमा परिवर्तन गर्दै शारीरिक रूपमा बलिया फरवार्ड शिक र बोनिफासलाई केन्द्रमा राखेका छन्।
तर, नयाँ रणनीति बायर्नसँगको च्याम्पियन्स लिगमा एलिमिनेसन टार्न पर्याप्त भएन। स्टुटगार्टविरुद्ध पनि प्रभावशाली हुन केही समय लाग्यो।
१५औं मिनेटमा स्टुटगार्टका एर्मेडिन डेमिरोभिचले रिबाउन्डमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुआतमा नै निक वोल्टेमाडेले गोल गर्दै स्टुटगार्टको अग्रता २–० बनाए।
तर, लेभरकुजेनको प्रतिक्रिया आउन ढिलो भएन। फ्रिमपोन्गले गोल गर्दै आशा जीवित राखे। तर, स्टुटगार्टले थप एक गोल गर्दै ३–१ को अग्रता बनायो। लेभरकुजेनका गोलकिपर लुकास हराडेकी र मिडफिल्डर ग्रानिट जाखाका कारण आत्मघाती गोल भएको थियो।
तर, पिएरो हिन्कापीले कर्नरबाट गोल गर्दै पुनरागमनको संकेत दिए। त्यसपछि अन्तिम मिनेटमा शिकले निर्णायक गोल गर्दै लेभरकुजेनलाई ४–३ को अविश्वसनीय जित दिलाए।