काठमाडौं। एट्लेटिको मड्रिडले दुई गोलको अग्रता जोगाउन नसक्दा आइतबार स्पेनिस ला लिगामा बार्सिलोनासँग ४–२ को हार बेहोर्न पुग्यो। रियल मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएपछि यो अर्को ठूलो झड्का हो।
मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा एट्लेटिकोले पहिलो हाफमा २–० को अग्रता लिएको थियो। तर, इन्जुरी समयमा दुई गोल स्वीकार गर्दै बार्सिलोनालाई जित सुम्पिन बाध्य भयो।
यो जितपछि बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ। एट्लेटिको भने समान ६० अंक भएका बार्सिलोना र रियलसँग चार अंकले पछि परेको छ। अझ कतिभने बार्सिलोनाले यी दुई टोलीभन्दा एक खेल कम खेलेको छ।
‘पहिलो हाफमा हामी राम्रो खेलेका थियौं र खेल हाम्रो नियन्त्रणमा थियो,’ एट्लेटिकोका मार्कोस ल्लोरेन्टेले भने। ‘तर, च्याम्पियन्स लिगमा १२० मिनेट खेल्नुको थकानको असर अन्त्यतिर असर गर्यो।’
बार्सिलोनाका लागि लामिन यमलले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा ३–२ को अग्रता दिलाए। त्यसपछि फेरान टोरेसले छैटौं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण जित दिलाए। ‘यो जित हाम्रो लागि ठूलो सन्देश हो, जसले हामीलाई शीर्षस्थानमा पुन: फर्काएको छ,’ यमलले भने।
एट्लेटिकोका लागि जुलियन अल्भारेजले पहिलो हाफको अन्त्यतिर काउन्टर एट्याकमा गोल गर्दै अग्रता दिलाए। उनै अल्भारेजको डबल टचका कारण च्याम्पियन्स लिगमा पेनाल्टी सुटआउटमा रियलसँग पराजित हुनुपरेको थियो।
७०औं मिनेटमा एलेक्जान्डर सोरलोथले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए। तर, ७२औं मिनेटमा रबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुन: खेलमा फर्काए। त्यसपछि ७८औं मिनेटमा राफिन्हाको क्रसलाई टोरेसले हेडरमार्फत गोल गर्दै खेल बराबरी गरे।
अन्ततः इन्जुरी समयमा यमल र टोरेसले गोल गर्दै बार्सिलोनालाई नाटकीय पुनरागमन जित दिलाए। ‘हामीले केही अवसरहरू गुमायौं। तर, बार्सिलोनालाई बधाई दिनुपर्छ। कहिलेकाहीँ भाग्य पनि साथ दिनुपर्छ,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमेओनेले भने।
डिसेम्बरमा भएको पहिलो भेटमा एट्लेटिकोले बार्सिलोनालाई २–१ ले हराएको थियो। कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा यी दुई टोलीले ४–४ को बराबरी खेलेका थिए। दोस्रो लेग अप्रिलमा हुनेछ।