काठमाडौं। अन्तत: न्युक्यासलको उपाधि प्रतीक्षा ७० वर्षपछि समाप्त भएको छ। न्युक्यासल युनाइटेडले लिभरपुललाई २–१ ले पराजित गर्दै इङ्लिस लिग कप जित्न सफल भएको हो।
साउदी अरेबियाको लगानीमा सञ्चालित क्लबले आइतबार वेम्बली स्टेडियममा लिभरपुललाई हराउँदै ऐतिहासिक जित दर्ता गर्यो। ‘७० वर्षपछि हामी फेरि च्याम्पियन भएका छौं,’ भावुक कप्तान ब्रुनो गुइमारेसले भने, ‘यो मेरो जीवनको सबैभन्दा उत्कृष्ट दिनमध्ये एक हो।’
न्युक्यासलका लागि ड्यान बर्न र अलेक्जान्डर इसाकले गोल गर्दै टोलीलाई उपाधि दिलाए। लिभरपुलका सब्स्टिच्युट फेडेरिको किएसाले इन्जुरी समयमा गोल फर्काए पनि न्युक्यासलको जित निश्चित भइसकेको थियो।
न्युक्यासलले पछिल्लोपल्ट सन् १९५५ मा एफए कप जितेको थियो। यसअघि सन् १९६९ मा इन्टर–सिटिज फेयर्स कप जितेको थियो। यो क्लबको प्रमुख घरेलु उपाधि थियो।
सन् २०२१ मा साउदी अरेबियाको सार्वभौमिक सम्पत्ति कोषद्वारा खरिद गरिएपछि न्युक्यासलको फुटबल यात्रा नयाँ युगमा प्रवेश गरेको थियो। पहिलो हाफको अन्त्यतिर ड्यान बर्नले हेडरमार्फत गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए। ५२औं मिनेटमा अलेक्जान्डर इसाकले उत्कृष्ट फिनिसिङ गर्दै गोल गर्दै लिड दोब्बर बनाए।
लिभरपुलका फेडेरिको किएसाले इन्जुरी समयमा गोल फर्काउँदै खेललाई तनावपूर्ण बनाएका थिए। तर, न्युक्यासलले अन्तिमसम्म अग्रता जोगाउँदै ऐतिहासिक जित दर्ता गर्यो।
लिभरपुल प्रिमियर लिगमा शीर्ष स्थानमा छ। २०औं इङ्लिस लिग उपाधि जित्ने क्रममा अघि बढिरहेको छ। तर, प्रशिक्षक आर्ने स्लटको पहिलो उपाधि जित्ने आशा अधुरै रह्यो। यसअघि मंगलबार पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग पेनाल्टी सुटआउटमा पराजित हुँदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।
‘७–८ महिनासम्म हामी लगातार दुई खेल हारेनौं,’ स्लटले भने, ‘तर, जब तपाई ठूला प्रतियोगितामा अगाडि बढ्नुहुन्छ, प्रतिस्पर्धा कठिन हुँदै जान्छ। लिभरपुलजस्तो टोली पनि कहिलेकाहीँ हार्न सक्छ।’
न्युक्यासलका समर्थकले वर्षौंसम्म निराशाजनक क्षणहरू सहनुपरेको थियो। तर, सात दशक लामो प्रतीक्षा समाप्त भएपछि यी समर्थले वेम्बली स्टेडियममा खुलेर खुसी मनाए। सन् १९९८ र १९९९ मा एफए कप फाइनलमा लगातार हार बेहोरेको टोलीले २०२२ मा म्यानचेस्टर युनाइटेडसँग लिग कप फाइनल गुमाएको थियो।
तर, यसपल्ट प्रशिक्षक एडी होवेको टोलीले लिभरपुलजस्तो बलियो प्रतिद्वन्द्वीलाई हराउँदै ऐतिहासिक उपलब्धि हात पार्यो। कप फाइनलमा तपाईलाई धेरै अवसर मिल्दैन। ‘आज हामीले आफ्नो मौका सदुपयोग गर्नुपर्थ्यो। यसले प्रमाणित गर्यो कि हामी उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्न सक्छौं,’ उनले भने।
साउदी लगानी पछि न्युक्यासलको फुटबल यात्रा नयाँ दिशामा अघि बढेको छ। यद्यपि, क्लब आर्थिक नियमका कारण सीमित खर्च गर्न बाध्य छ। त्यसैले कतारी लगानीको पिएसजी वा अबुधाबी लगानीको म्यानचेस्टर सिटीजस्तो ठूलो खर्च गर्न सकेको छैन।
तर, ड्यान बर्न र अलेक्जान्डर इसाकजस्ता खेलाडीले आफ्नो महत्त्व वेम्बलीमा प्रमाणित गरिसकेका छन्। ‘हाम्रो लागि यो सुरुआत मात्र हो। हामीले उपाधि जित्न सक्छौं भन्ने प्रमाणित भइसकेको छ। अब भविष्यमा अझ ठूलो सफलताको लक्ष्य राख्नेछौं,’ होवेले भने।