काठमाडौं। क्रिस्टियन पुलिसिचले शनिबार फेरि गोल गर्दै एसी मिलानलाई सिरी ‘ए’ मा अर्को पुनरागमन जित दिलाए। घरेलु मैदानमा मिलानले कोमोविरुद्ध २–१ को जित निकाल्यो।
टिज्जानी रेइन्डर्सले दोस्रो हाफमा पुलिसिचको बराबरी गोलको अवसर सिर्जना गरे। ७५औं मिनेटमा आफैं निर्णायक गोल गर्दै मिलानलाई जित दिलाए।
यो पुलिसिचको पछिल्ला दुई खेलमा तेस्रो गोल हो। यससँगै अमेरिकन खेलाडीले सिरी ‘ए’मा ९ र सिजनभर सबै प्रतियोगितामा १५ गोल पुर्याएका छन्। उनले गत सिजन मिलानका लागि गरेको कुल गोलसंख्या बराबर गरेका छन्।
यो जितपछि मिलान अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ। चौथो स्थानमा रहेको युभेन्टसभन्दा पाँच अंकले पछाडि छ। मिलानको २९ खेलबाट ४७ र एक खेल कम खेलेको युभेन्टसको ५२ अंक छ।
कोमो भने रेलिगेसन क्षेत्रभन्दा सात अंकले माथि छ। पुलिसिचले गत हप्ता लेच्चेविरुद्ध दुई गोल गर्दै मिलानलाई ३–२ को पुनरागमन जित दिलाएका थिए। शनिबार पनि मिलान खेलको पहिलो हाफमा पछि परेको थियो। ३३औं मिनेटमा लुकास डा कुञ्हाले कोमोलाई अग्रता दिलायो।
मिलान समर्थकहरू पहिलो हाफपछि असन्तुष्ट देखिए। दोस्रो हाफको सुरूआतमै कुञ्हाले दोस्रो गोल गरेका थिए। तर, अफसाइडका कारण रद्द भयो।
चार मिनेटपछि मिलानले बराबरी गोल फर्कायो। राफाएल लिआओ र एलेक्स जिमेनेजको संयोजनपछि टिज्जानी रेइन्डर्सले पुलिसिचलाई उत्कृष्ट पास दिए। पुलिसिचले बललाई टाइट कोणबाट पोस्टको तलको कुनामा पठाउँदै बराबरी गोल गरे।
७५औं मिनेटमा रेइन्डर्सले निर्णायक गोल गरे। ताम्मी अब्राहमको ब्याकहिल पासबाट बल पाउँदै उनले सहजै गोल गर्दै मिलानलाई जित दिलाए।