काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडमा आफ्नो करियरको सुस्त सुरूआतपछि किलियन एमबाप्पेले क्लबका महान् खेलाडीमध्ये एकलाई उछिनिसकेका छन्।
शनिबार भिल्लारियलविरुद्ध २–१ को जितमा एमबाप्पेले दुई गोल गर्दै यस सिजन सबै प्रतियोगितामा आफ्नो गोल संख्या ३१ पुर्याए।
यो सन् २००२–०३ सिजनमा ब्राजिली स्ट्राइकर रोनाल्डोले रियलका लागि गरेको गोलभन्दा एक बढी हो। यस जितसँगै रियलले ला लिगामा बार्सिलोनासँग तीन अंकको अग्रता लिएको छ। यद्यपि, बार्सिलोनाले दुई खेल कम खेलेको छ।
रियलको २८ खेलबाट ६० अंक छ। बार्सिलोनाको भने २६ खेलबाट ५७ अंक छ। एमबाप्पेले सुरुका महिनामा भोगेको ‘स्कोरिङ’ समस्या अब हल भइसकेका छन्।
रोनाल्डोको सिजनलाई उछिनेसँगै पेरिस सेन्ट–जर्मेन (पिएसजी) पूर्वखेलाडी एमबाप्पे अब क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमाननजिक पनि छन्। त्यो हो पहिलो सिजनमा (२००९–१०) रियलका लागि गरेका ३३ गोल।
‘उहाँहरू क्लबका युग बनाउने खेलाडी हुन्,’ एमबाप्पेले दुई जना रोनाल्डोबारे भने, ‘बढी गोल गर्नुको अर्थ म उहाँहरूभन्दा राम्रो छु भन्ने होइन, मात्र मेरो पहिलो सिजन उत्कृष्ट भइरहेको छ। गोल गर्नु महत्त्वपूर्ण छ। तर अझ महत्त्वपूर्ण कुरा हामी ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे जित्न सक्छौं कि सक्दैनौं भन्ने हो।’
एमबाप्पेले ला लिगामा २० गोल पुर्याएका छन्, जुन बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्कीभन्दा एक मात्र कम हो।
कमब्याकको नेतृत्व
भिल्लारियलले खेललाई रोमाञ्चक बनायो। एलेक्स बाएना र निकोलस पेपेले निरन्तर आक्रमण गर्दै उत्कृष्ट मौका सिर्जना गरे। रियलका गोलकिपर थिबाउट कोर्टुवा पहिलो हाफमा पेपे, अयोजे पेरेज र पापे गुएयेको प्रहार रोक्न सफल भए।
तर, भिल्लारियलको डिफेन्सलाई एमबाप्पेले निर्ममतापूर्वक सजाय दिए। ‘एमबाप्पे खेलमा धेरै संलग्न भएनन्, तर उनी घातक सावित भए,’ भिल्लारियलका प्रशिक्षक मार्सेलिनो टोरेलले भने।
पेरेजको शट कोर्टुवाले रोक्दा भिल्लारियलले आठौं मिनेटमा कर्नर किक जितेको थियो। त्यसै कर्नरबाट भएको मौका सदुपयोग गर्दै जुआन फोइथले सिक्स यार्ड बक्स भित्रबाट गोल गरे।
एमबाप्पेले १७औं मिनेटमा बराबरी गोल गरे। रिबाउन्डमा भएको बललाई उनले शक्तिशाली प्रहार गर्दै गोलमा परिणत गरे। २३औं मिनेटमा उनी नै फेरि ‘स्कोरशीट’मा नाम लेखाउन सफल भए।
भिल्लारियलको डिफेन्सले उनलाई मार्क गर्न सकेन। यसैको फाइदा उठाउँदै उनले लुकास भास्क्वेजको पासबाट सजिलै गोल गरे। दोस्रो हाफमा थियर्नो बार्री र फोइथले गोल गर्ने मौका गुमाए। त्यसपछि रियलले डिफेन्स बलियो बनाउँदै खेल आफ्नो पक्षमा राख्यो।
रियलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले भिनिसियस जुनियर र एन्टोनियो रुडिगरलाई अन्तिम ३० मिनेटसम्म बेन्चमै राखे। लुका मोड्रिच पनि केही समयपछि मात्र मैदान प्रवेश गरे।
च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध अतिरिक्त समय र पेनाल्टी सुटआउट खेलेपछि टोलीको थकानलाई ध्यानमा राख्दै प्रशिक्षकले केही नयाँ प्रयोग गरेका थिए।
‘यो एक महत्त्वपूर्ण र कठिन खेल थियो। एट्लेटिकोविरुद्धको कठिन खेलपछि आजको खेल खेल्न गाह्रो थियो। तर, हामीलाई जित्न आवश्यक थियो। हामीले जित्ने चाहना देखायौं,’ एमबाप्पेले भने।
बार्सिलोना आइतबार तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग खेल्दैछ, जुन चार अंकले पछि छ। बार्सिलोनाको ओसासुनासँग खेल्न बाँकी एउटा स्थगित खेल पनि छ।
खेल तालिकाबारे गुनासो
खेल तालिका परिवर्तन गर्न अनुरोध गर्दा अस्वीकृत गरिएकोमा एन्सेलोट्टीले असन्तुष्टि जनाए। उनले क्लबले अब ७२ घण्टाभन्दा कमको विश्राम अवधि भएमा खेल्न अस्वीकार गर्ने बताए। ‘यो अन्तिम पटक हो। हामी ७२ घण्टाभन्दा कममा खेल्दैछौं,’ उनले भने।