काठमाडौं। इङ्लिस क्लब नटिङ्घम फरेस्टका लागि च्याम्पियन्स लिगको छनोट झन् नजिकिँदै गएको छ। तर, म्यानचेस्टर सिटीले अझै धेरै मिहिनेत गर्न बाँकी छ।
प्रिमियर लिगमा यस सिजन रेलिगेसनको लागि संघर्ष गर्नुपर्ला भनेर धेरैले सोचेका नटिङ्घमले शनिबार इप्सविचलाई ४–२ ले पराजित गरेको हो। नटिङ्घमको जितमा एन्टोनी एलाङ्गाले दुई गोल गरे भने अन्य गोल निकोला मिलेनकोभिच र जोटा सिल्भाले गरेका थिए।
योसँगै नटिङ्घमले दोस्रो स्थानको आर्सनलसँगको अंक दूरी एकमा झारेको छ। अझ महत्त्वपूर्ण कुरा के छ भने नटिङ्घमले सिटीसँगको अंक दूरीलाई ६ मा पुर्याएको छ। लगातार चार सिजन लिग जितेको सिटीले आफ्नो घरेलु मैदान एतिहाद स्टेडियममा शनिबार ब्राइटनसँग २–२ को बराबरी खेल्दै अंक गुमाएको छ।
२८ खेल खेलेको आर्सनलको ५५ अंक छ। एक खेल बढी खेलेको नटिङ्घमले ५४ र एक खेल कम खेलेको चेल्सीले ४९ अंक पुर्याएका छन्। तर, सिटी २९ खेलबाट ४५ अंक जोड्दै अहिले पाँचौं स्थानमा रहेको छ, जुन सम्भवत: अर्को सिजनका लागि प्रिमियर लिगबाट च्याम्पियन्स लिग छनोटको अन्तिम स्थान हुनेछ।
सिटीले पहिलो हाफमा दुई पटक अग्रता लिएको थियो। पहिला एर्लिङ हालान्डको पेनाल्टी र त्यसपछि ओमार मर्मोशको उत्कृष्ट प्रहारमार्फत। तर, ब्राइटनले हरेक पटक बराबरी गर्दै सिटीलाई दबाबमा राख्यो।
४८औं मिनेटमा अब्दुकोदिर खुसानोभको आत्मघाती गोलपछि ब्राइटनले खेल बराबरी गर्न सफल भयो। यससँगै सिटीले यस सिजन लिगमा ४० गोल खाइ सकेको छ। पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले एकै सिजनमा सबैभन्दा बढी गोल खाएको हो।