काठमाडौं। २३औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलपाटीबाट हुने भएको छ। प्रतियोगिता चैत ९ गतेदेखि रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा सुरु हुने तय छ।
सम्झौतामा आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचन र खेलपाटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सजीव भट्टराईले शनिबार हस्ताक्षर गरेका हुन्।
प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौताले प्रतियोगितालाई भव्य बनाउन सहयोग पुग्ने गौचनले विश्वास व्यक्त गरे। मोफसलको सबैभन्दा पुरानो र उत्कृष्ट गोल्डकपसँग जोडिन पाउनु खुसीको विषय भएको भट्टराईले उल्लेख गरे।
मोफसलको सबैभन्दा पुरानो र प्रतिष्ठित गोल्डकप तिलोत्तमाको २३औं संस्करण चैत ९ देखि १६ गतेसम्म आयोजना हुँदैछ। प्रतियोगितामा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित एपिएफ, संकटा, नेपाल पुलिस क्लबले सहभागिता जनाउने छन्।
आयोजकको एक टिम हुनेछ भने भारतबाट जर्जियन एफसफ र एडोर्न गडवाल स्पोर्टिङले पनि सहभागिता जनाउने पक्का भइसकेको छ।
उद्घाटन खेलमा रुपन्देही र एपिएफ भिड्ने छन्। समूह ‘ए’ मा यी दुईसहित संकटा र जर्जियन एफसी छन्। अर्को समूहमा चर्च ब्वाइज र मच्छिन्द्रसँगै पुलिस र एडोर्न गडवाल स्पोर्टिङ क्लब छन्। प्रतियोगिताको विजेताले १२ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्।
उपविजेताले भने ६ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझाउने छ। सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने आयोजकले जनाएको छ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई समान ३१ हजार रुपैयाँ दिइने छ। प्रत्येक खेलको म्यान अफ द म्याचले ११ हजार १११ रुपैयाँ हात पार्नेछ।
प्रतियोगितालाई तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाले संरक्षण र प्रवर्द्धन गरेका छन्। प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा यशोदा फुड्सको करेन्ट चाउचाउ रहेको छ।