काठमाडौं। दक्षिणकाली र तारकेश्वर नगरपालिकाले काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसिसी कप’मा विजयी सुरुआत गरेका छन्।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको खेलमा दक्षिणकालीले नागार्जुन नगरपालिकालाई १–० ले हरायो। निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिणकालीलाई जित दिलाउन नवीन कर्माचार्यले निर्णायक गोल गरे। उनले खेलको ५४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
नवीन नै खेलको प्लेयर अफ द म्याच चुनिए। काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा शनिबार सुरु भएको प्रतियोगिताको शनिबार नै भएको अर्को खेलमा तारकेश्वर नगरपालिकाले बुढानीलकण्ठ नगरपालिकालाई १–० ले पराजित गर्यो।
तारकेश्वरलाई जित दिलाउन विवश गुरुङले १२औं मिनेटमा निर्णायक गोल गरे। विवश नै खेलको प्लेयर अफ म्याच पनि घोषित भए।
चैत ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए।