रजत पदक जितेर स्वदेश फर्किइन् प्रभा
२०२५ मार्च १४, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं। विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा लङजम्पमा रजत पदक जितेकी प्रभा आङदेम्बे शुक्रबार स्वदेश फर्किएकी छन्।
भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियमा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभाले टी– ४७ क्याटगोरीको महिला लङजम्पमा स्वर्ण जितेकी हुन्।
उनले ३.९६ मिटर जम्प गर्दै रजत जितेकी हुन्। प्रभाले लङजम्पसहित २ सय र ४ सय मिटर दौडमा पनि सहभागिता जनाएकी थिइन्।
प्रभासहित नेपालबाट ६ खेलाडी सहभागी थिए। पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए। गोविन्दले ज्याभ्लिन थ्रोमा पनि खेलेका थिए।