काठमाडौं। विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ६ खेलाडीले चुनौती पेस गर्ने भएका छन्। मार्च ७ देखि १४ तारिखसम्म नयाँ दिल्लीमा हुने प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडी सहभागी छन्।
उक्त प्रतियोगितामा सहभागिता जनाउन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको दिल्ली प्रस्थान गरेको छ ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे ।
पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् ।
गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला दुई सय/चार सय मिटर दौड र लङजम्पमा भाग लिने छन् । अफिसियलमा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला रानामगर छन् ।
एक महिनाको अन्तरालमा नेपालले पारा एथलेक्टसमा सहभागिता जनाएको यो दोस्रो पटक हो । नेपाल गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबइमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो । खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला यो टोलीमा पनि दोहोरिएका हुन् । दुबइमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको जनाइएको छ ।