काठमाडौं। नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता हुने भएको छ।
प्रतियोगिता चैत १ देखि ४ गतेसम्म नखिपोटस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
प्रतियोगितामा ६ स्पर्धामा करिब २ सय ७५ खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले जानकारी दिए। सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८५ हजार रुपैयाँ रहेको आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए।
पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्। पुरुष सिंगल्समा शीर्ष ८ वरीयतामा रहेका खेलाडी सहभागी हुन पाउने छैनन्। यु–१७ पुरुष सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५/५ हजार नगद पुरस्कार हात पार्ने छन्। शीर्ष २० वरीयता बाहेकका खेलाडीको पुरुष डबल्समा प्रथम हुनेले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १०÷१० हजार नगद पुरस्कार जित्ने छन्।
त्यस्तै मिक्स डबल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले ७ हजार ५ सय नगद पुरस्कार पाउने छन्। भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०–१० नगद पुरस्कार प्राप्त गर्ने छन्।
प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने कोषाध्यक्ष राईले बताए। सहभागीको बिहानको खाना र खाजाको व्यवस्था आयोजकले व्यहोर्ने छ। इच्छुकले फागुन २७ गतेसम्म नाम दर्ता गराइसक्नु पर्नेछ।