काठमाडौं। भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ। शनिबार त्रिपुरेश्वरको कभर्डहलमा विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१–१७ ले हरायो।
कप्तान विजयसँगै टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरले उत्कृष्ट प्रदर्शन गरेका थिए। निकेश नै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए। उनले २५० अमेरिकी डलर प्राप्त गरेका छन्। विजेता नेपालले १२ सय र उपविजेता राइभल भारतले चार सय डलर प्राप्त गरे।
फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान सहभागी थिए। डबल राउन्ड रोबिन पद्धतिमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपाल र भारतका टिम फाइनलमा स्थान बनाउन सफल भएका हुन्।