धरान। चौथो येले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबलको उपाधि धरान मेघा हिमालयन कलेज र झुनाज फिटेनसले जितेका छन्। महिलातर्फ धरान मेघा र पुरुषतर्फ झुनाजले उपाधि चुमेका हुन्।
किरात नयाँ वर्ष येले दोङ ५०८५ ( यलम्बर संवत्) को अवसरमा धरान भानु चोकमा आयोजित प्रतियोगितामा महिलातर्फ धरान मेघा र पुरुषतर्फ झुनाज च्याम्पियन बनेको हो। महिलातर्फको फाइनलमा धरान मेघाले रेड डेभिल्सलाई ८–७ अंकको अन्तरले पराजित गरे।
धरान मेघाले जितसँगै येले दोङ उपाधिमा ह्याट्रिक गरेको छ। धरान मेघाले उपाधिसँगै २० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता रेड डेभिल्सले १० हजार रुपैयाँमा चित्त बुझायो।
पुरुषतर्फको फाइनलमा झुनाजले यलम्बर बास्केटबल क्लबलाई १६–१२ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। उपाधिसँगै झुनाजले ० हजार र उपविजेता यलम्बरले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिलातर्फ धरान मेघाका शीतल तामाङ र पुरुषतर्फ झुनाजका कविन मगर घोषित भए। उनीहरूले जनही २५ सय प्राप्त गरे । सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ २३ र महिलातर्फ सात ७ टिम सहभागी थिए।