काठमाडौं । राम अवालेले नेपाल ओलम्पिक कमिटीको कार्यसमितिबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले ७२ घण्टे स्पष्टिकरण सोधेपछि नेपाल बक्सिङ संघका अध्यक्ष समेत रहेका अवालेले पदबाट राजीनामा दिएका हुन् ।
अवैधानिक रुपमा निर्वाचन सम्पन्न गरिएको नेपाल ओलम्पिक कमिटीमा अवाले निर्विरोध सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि समेत सदस्य पदमा रहेको अवालेलाई सदस्य पदमै उम्मेदवारी दिन लगाएर अवैधानिक रुपमा नेपाल ओलम्पिक कमिटीको निर्वाचन भएको थियो ।
अदालतको आदेश र सरकारको निर्देशन पालना गर्ने भन्दै अवालेले पदबाट राजीनामा दिएको विषय राखेपमा जानकारी गराएको परिषदका एक अधिकारीले खेलपाटीलाई बताए ।
योसँगै नेपाल ओलम्पिक कमिटीको कार्यसमितिबाट ५ जना पदाधिकारीले राजीनामा दिएका छन् । सदस्य मनिष जोशी र उपाध्यक्ष अनिल शर्माले अन्तिम मतदान बहिष्कार गर्दै ओलम्पिकको अवैधानिक प्रकृयाबाट आफुलाई अलग राखेका थिए ।
त्यसपछि उपाध्यक्षमा निर्वाचित भएका नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश राणा, सदस्यमा निर्वाचित भएका भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द ओलम्पिकबाट राजीनामा दिईसकेका छन् । सो निर्वाचनलाई ओलम्पिकमा आबद्ध ७ खेल संघले बष्हिकार गर्दै निर्वाचन प्रकृयाबाट अलग भएका थिए ।
सरकारले नेपाल ओलम्पिक कमिटीलाई अवैधानिक घोषणा गर्दै कारबाहीको निर्णय गरेको छ । सरकारले ओलम्पिकको केन्द्रिय कार्यालय कब्जामा लिएर ओलम्पिकको बैंक खाता रोक्नेदेखि वैदेशिक कार्यक्रममा जान रोक लगाउने निर्णय गरेको छ ।
साथै परिषद्ले ओलम्पिक निर्वाचनमा सहभागी संघलाई अन्तिम पटक ७२ घण्टे स्पष्टिकरण सोध्दै कारबाही प्रकृया अघि बढाउने निर्णय गरेको छ । सोही अनुसार नेपाल ओलम्पिक कमिटीबाट राजीनामा नदिएका संघलाई स्पष्टिकरण सोधेर कारबाहीको तयारी सरकारले गरेको छ ।