काठमाडौं। तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिसन (खुला आरोहण प्रतियोगिता)को दोस्रो संस्करणमा भिन्सेन्ट साब्लिच र टमसिन हन्ट प्रथम भएका छन्।
युएस–नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल राष्ट्रिय पर्वतारोहण पद प्रदर्शक संघको संयुक्त आयोजनामा सुरु गरिएको दोस्रो संस्करण पुरुषतर्फ साब्लिच र महिलातर्फ हन्ट प्रथम भएका हुन्। योसँगै उनीहरूले जनही ४५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा भएको फाइनल प्रतियोगिताको लागि पुरुष र महिला समान आठ जना छनोट भएका थिए । पुरुषतर्फ दिपन गुरुङ दोस्रो, पाउल श्मिट तेस्रो, छेरेङ ग्याल्जेन शेर्पा चौथो र साजन लामा पाँचौं स्थानमा रहे । त्यस्तै, महिलातर्फ मिङ्मा याङ्जी शेर्पा दोस्रो, फुरा डिकी शेर्पा तेस्रो, सन्तोषी मगर चौथो र दीपा लामिछाने पाँचौं स्थानमा रहे ।
विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद् नेपालका सदस्य सचिव टंकलाल घिसिङले प्रमाणपत्र र नगद पुरस्कार वितरण गरे । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला/पुरुषले क्रमशः ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । दुवै विधाका चौथो र पाँचौं स्थान प्राप्त गर्ने खेलाडीहरूले गिफ्ट ह्याम्पर प्राप्त गरे । पुरुष र महिलातर्फका सबैभन्दा कान्छा र जेष्ठ सहभागीलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।