काठमाडौं। प्राइम ग्लोबलकी प्राज्ना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१२ गर्ल्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्राज्नाले आदर्श विद्या मन्दिर (एभिएम) की साइरा शाक्यलाई ३–१ ले पराजित गरिन्। एभिएमकी तया बुङमा राई र जेम्सकी सुहाना महर्जन तेस्रो भए।
रेड टाइल्सको आयोजनामा भइरहेको प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा गण्डकी विश्व विद्यालयका गनन्जय दाहाल र क्याननका हिमाल विष्ट फाइनलमा पुगे। सेमिफाइनलमा गनन्जयले गोल्डेनगेटका सुजन गडाललाई ३–१ तथा हिमाल विष्टले सिड एकेडेमीका प्रवेश बस्नेतलाई ३–० ले पाखा लगाए।
सोही विधाको महिलामा एभिएमकी इभाना थापाले एभीएमकै आश्मा पहरीलाई ३–० तथा रिड मोडेलकी सुस्मिता खड्काले एभिएमकी वियंका राईलाई ३–१ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे।