काठमाडौं। आदर्श विद्या मन्दिर (एभीएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा बुधबार स्वर्ण जितेकी छन्।
अर्सनाले फाइनलमा सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ३–० को सोझो पराजित गरिन्। फ्युचर स्टारकी एमरिन महर्जन र ग्लोरियाकी ममता बोहरा तेश्रो भए।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्स फाइनलमा एभीएमका स्वर्णिम शाक्य पहिलो भए। उनले फाइनलमा डिएभीका रिभानमुनि वज्राचार्यलाई ३–२ ले हराए। प्रभातका सफल अवाल र बृहस्पतिका विनम्र घिमिरे तेश्रो बने।
रेड टाइल्सद्वारा आयोजित प्रतियोगिताअन्तर्गत सिंगल्सको यु–१६ ब्वाइजमा एभीएमका प्रजिल भट्टराई र गल्र्समा ग्लोरियाकी महिमा महताले स्वर्ण जिते।फाइनलमा प्रजिलले एभीएमकै जयश्नु महर्जनलाई ३–१ ले पाखा लगाए। भासराका रिजन शाक्य र वचन विष्ट तेश्रो स्थानमा रहे। महिमाले फाइनलमा दार्जलिङ पब्लिककी मनाली चन्दलाई ३–० सोझो सेटमा पन्छाइन्। प्रभातकी सेफिना कोजु र जस्मिता देवनाथ तेश्रो भए।