काठमाडौं। एभिएम स्कुलकी एन्जेला क्षत्रीले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको पहिले स्वर्णपदक जितेकी छन्। उनले फाइनलमा आफ्नै स्कुलकी प्रतिद्वन्द्वी काव्य शाक्यलाई मंगलबार पराजित गर्दै स्वर्ण जितेकी हुन्।
लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा एन्जेलाले अन्तिम दुई सेट कब्जा गर्दै सफलता हात पारेकी हुन्। त्यस क्रममा उनले काव्यको चुनौती ११–७, ८–११, ९–११, ११–८ र ११–८ ले समाप्त पारेकी थिइन्। उक्त स्पर्धामा एभिएम स्कुलले ‘क्लिन–स्वीप’ नै गर्यो। यस्तोमा कृति महर्जन र सम्पदा श्रेष्ठ सेमिफाइनलमा रोकिएका थिए।
स्कुल, कलेज र ४० वर्षमाथिको भेट्रानमा गरी कुल ११ स्पर्धा समावेश प्रतियोगितामा झण्डै तीन सय ५० खेलाडीको सहभागिता रहेको आयोजक रेड टायल्सका प्रमुख सुरज केसीले बताए।
कलेजतर्फ मेन्स सिंगल्स र लेडिज सिंगल्समा प्रतिस्पर्धा हुनेछ। स्कुलतर्फ ब्वाइज र गर्ल्स दुवैमा यु–१०, यु–१२, यु–१४ र यु–१६ स्पर्धा समावेश गरिएको छ। प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ।