काठमाडौं। त्रिभुवन आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले शनिबार चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन्।
प्रतियोगिताको मुख्य स्पर्धा हाफ म्याराथनको पुरुषमा राजन र महिलामा सन्तोषी पहिलो भएका हुन्। दुवैको तेस्रो यो सहभागिता हो। तेस्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोस्रोमा दोस्रो भएका थिए। सन्तोषी पहिलो र तेस्रो संस्करणको पनि विजेता हुन्।
सन्तोषीले नखेलेको दोस्रो संस्करणमा फुलमति राना पहिलो भएकी थिइन्। पुरुषमा पहिलो संस्करणमा तीर्थ पुन तथा दोस्रो र तेस्रो संस्करणमा दीपक अधिकारी पहिलो भएका थिए।
निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न राजनले १ घण्टा ०६ मिनेट १० सेकेन्ड समय खर्चे। दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन्।