काठमाडौं । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले कार्यतालिका बनाएर दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नुपर्ने बताएका छन् ।
अहिलेको तयारीले चैतमा प्रतियोगिता आयोजना गर्न नसकिने बताउँदै सदस्य सचिव सन्जेलले मुख्य आयोजकको हिसाबले राष्ट्रिय खेलकुद परिषद्ले कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
सरकारले कर्णालीमा यस वर्ष हुने घोषणा गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । यसअघि मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिताको मिति निर्धारण गरिएपनि विभिन्न कारण देखाएर दशौंको मिति चैतमा सारिएको हो ।
‘सुरुमा त कार्यतालिका सार्वजनीक गर्न पर्यो ।’ सन्जेलले खेलपाटीसँग भने, ‘कहिले निर्देशिका पारित हुन्छ ? खरिद टेण्डर प्रकृया कहिले सुरु हुन्छ ? टेण्डर सम्झौता कहिले हुन्छ ? प्रदेशमा खेलाडी छनोट कहिलेसम्म सकेर केन्द्रमा नाम पठाउने भन्ने सुचना तत्काल प्रदेशहरुमा जान आवश्यक छ ।’
सदस्य सचिव सन्जेलले अहिलेसम्म केन्द्रबाट दशौंको तयारीको सन्दर्भमा कुनै सर्कुलर प्रदेशहरुमा नगएको भन्दै केन्द्रको तयारी नपुगेको उल्लेख गरेका छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई केन्द्रमा राखेर कर्णाली प्रदेश सरकारले दुई अर्ब बजेट खर्च गरेर रंगशाला सहितको खेलकुद पूर्वाधार निर्माण गरेको छ । सदस्य सचिव सन्जेलकै नेतृत्वमा कर्णाली प्रदेशको सुर्खेतमा अत्याधुनिक रंगशाला सहितको खेल पूर्वाधारको निर्माण सम्पन्न भएको छ ।
‘चैतमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न अझै पनि सम्भव छ । तर केन्द्रले छिटो छिटो गरि तयारी अघि बढाउन पर्यो । प्रदेशहरु पछाडीबाट धक्का लगाउन तयार छौं, तर सिटको ड्राईभरले ‘स्टेरिङ’मा ‘गेर’ लगाउन आवश्यक छ ।’ सन्जेलले भने ।