काठमाडौं । प्रतिनिधि छनोट विषयलाई लिएर नेपाल ओलम्पिक कमिटि (एनओसी)मा भाँडभैलो मच्चिएको छ । चुनावबाट भागेका र पराजित बनेका व्यक्तिलाई नै प्रतिनिधिको रुपमा ओलम्पिकले सार्वजनीक गरेपछि नयाँ विवाद सुरु भएको हो । निकै विवादीत बनेको नेपाल ओलम्पिकको चुनाव निर्धारित समयमै हुने-नहुने अन्यौल छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसी र राष्ट्रिय खेलकुद परिषद्लाई बेवास्ता गर्दै घोषणा गरिएको चुनावको मिति पुस १३ गते तोकिएको छ ।
एनओसीको संशोधित विधानलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिले अहिलेसम्म स्वीकृत गरेको छैन । तर अदालतको आदेश अवज्ञा गर्दै विधान संशोधन गरेका अध्यक्ष जीवनराम श्रेष्ठले आईओसीबाट विधान स्वीकृत नहुँदै चुनावको घोषणा गरेका छन् । एनओसीले हिजो बुधबार २७ वटा संघबाट आएका प्रतिनिधिको नाम सार्वजनीक गरेको थियो । तर ओलम्पिकले सार्वजनीक गरेको संघहरुको प्रतिनिधिमा नेपाल पौडी संघ, नेपाल टेबल टेनिस संघ, नेपाल कुस्ती संघ र नेपाल उसु संघमा विवाद देखिएको छ ।
राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिएर राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार चुनाव गराएका पौडीबाट जगतमान श्रेष्ठ, टेबल टेनिसबाट बिजेन्द्र हमाल, उसुबाट शैलेश कर्मचार्य र कुस्तीबाट सम्राट कुसारीले ओलम्पिकमा प्रतिनिधिको रुपमा नाम पठाएका थिए । तर एनओसीले पौडीबाट अशोक रत्न बज्राचार्य, टेबल टेनिसबाट चतुरानन्द वैद्य, कुस्तीबाट समिम मियाँ अन्सारी र उसुबाट लाक्पा लामाको नाम सार्वजनीक गरेको छ ।
पौडीका अशोकरत्न र टेबल टेनिसका चतुरानन्द संघबाट बाहिरिएपछि ओलम्पिक अध्यक्षको ‘फेरो’ समाएर एनओसीको चुनावमा सामेल भएका छन् । ओलम्पिकमा जाने बाटो बन्द भएपछि अन्तराष्ट्रिय महासंघलाई गलत पत्राचार गर्दै दुवैले राष्ट्रिय संघमा अनावश्यक विवाद खडा गरेका छन् । कुस्ती र उसुबाट प्रतिनिधि बनेका समिम मियाँ र लाक्पाले निर्वाचन बहिष्कार गरेर आफैलाई वैधानिक संघको रुपमा सञ्चालन गर्दै आएका छन् ।
राष्ट्रिय संघमा देखिने विवादलाई आफ्नो राजनीतिक स्वार्थमा ओलम्पिकको वर्तमान नेतृत्वले प्रयोग गर्दै आएको छ । आफैले प्रतिनिधि बनाएर निर्वाचन गराएको नेपाल पौडी संघलाई ओलम्पिकले बाहिर राख्दै आफ्नो निहित स्वार्थमा अशोकरत्नलाई प्रतिनिधिको रुपमा सार्वजनीक गरेको छ ।
नेपाल टेबल टेनिस संघका अध्यक्ष ब्रिजेन्द्र हमालले पूर्वाग्राही ढंगले ओलम्पिक प्रतिनिधिको रुपमा आफुहरुलाई बहिर राखिएको बताए । ओलम्पिकको गलत कदमविरुद्ध आफुहरु कानुनी उपचार खोज्ने हमाल बताउँछन् । ‘आफै संयोजक रहेको कमिटिले गराएको चुनावबाट डराएर भागेका तत्कालिन अध्यक्ष ओलम्पिक प्रतिनिधि बनेको देख्दा लाज लागेको छ । कम्तिमा आफ्नो नैतिकताको ख्याल उहाँ (चतुरानन्द वैद्य)ले गर्नुपर्ने हो ।’ उनले भने ।
नेपाल कुस्ती संघका अध्यक्ष सम्राट कुसारीले आधिकारिक संघहरुलाई बाहिर राख्दै गर्न खोजिएको निर्वाचन दुखद रहेको बताए । उनले पनि ओलम्पिकको खराब कदमविरुद्ध कानुनी उपचार खोजिने बताए ।
चार वटै संघले ईमेलमार्फत ओलम्पिक अध्यक्ष र महासचिवलाई समेत टासेर प्रतिनिधिको नाम पठाएका थिए । तर ओलम्पिकको वर्तमान नेतृत्वले आफु अनुकुलका प्रतिनिधिलाई समावेश गर्दै ती नामहरुलाई अस्विकार गरेको छ ।
ओलम्पिक चुनावको प्रतिनिधिको नाम सार्वजनीक हुदाँ सर्वाधिक चासोको रुपमा हेरिएका पिताम्बर तिमिल्सिना चिप्लिएका छन् । यसअघि नेपाल एथलेटिक्स संघबाट प्रतिनिधि बनेर ओलम्पिक छिरेका पिताम्बरले यस पटक ओलम्पिक छिर्न कुनै संघ पाएनन् । ओलम्पिक चुनावमै तत्कालिन समयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिएर जीवनरामलाई साथ दिएको आरोप भोग्दै आएका पिताम्बर ओलम्पिकको निर्वाचन प्रकृयाबाट अलग भएका छन् । राष्ट्रिय खेलकुद परिषद्मा दुई पटक उपाध्यक्ष रहेका पिताम्बरलाई घरेलु खेलकुदका प्रभावशाली नेता मानिन्छ ।
अदालतले रोक्न आदेश दिएपनि, अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधनको स्वीकृति नदिएपनि चुनाव गराउन उद्यत रहेका जीवनराम सहित कार्यसमितिका २० जनामाथि अदालतमा अपहेलनाको मुद्धा दायर छ । सो मुद्धामाथि अदालतबाट सुनुवाई हुन बाँकी छ ।
यस्ता छन् ओलम्पिकले सार्वजनीक गरेका प्रतिनिधिको नामावली,