काठमाडौं । साउथ एशियन ओलम्पिक काउन्सिलको बैठक मार्च २ मा बस्ने भएको छ । दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) खेलकुदको नयाँ मितिको बिषयमा निर्णय गर्न मार्चको दोस्रो दिन बैठक बस्ने पक्का भएको हो ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले मार्च २ मा थाईल्याण्डको बैंककमा काउन्सिलको बैठक बस्ने पक्का भएको खेलपाटीलाई बताए ।
‘आन्तरिक छलफलपछि मार्च २ मा काउन्सिलको बैठक बस्ने पक्का भएको छ । त्यही बैठकले साग खेलकुदको नयाँ मितिको बिषयमा निर्णय गर्नेछ ।’ उनले भने ।
मार्चको पहिलो साता बैंककमै एसियन ओलम्पिक कमिटिको बिशेष साधारण सभा आयोजना समेत हुदैछ । सोही अनुकुलतालाई आधार मानेर साउथ एसियन ओलम्पिक काउन्सिलको बैठक राखिएको हो ।
सरकारले पुर्वाधार अभावको कारण देखाउँदै १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित मितिमा गर्न नसकिने बताउँदै आएको छ ।
यसअघि साग प्रतियोगिता मार्च ९ देखि १८ सम्म नेपालमा आयोजना गर्ने निर्णय भएको थियो । तर समयमै तयारी अगाडी नबढाउँदा प्रतियोगिता निर्धारित मितिमा गर्न नसकिने स्पष्ट देखिएको छ ।
सरकारले समेत नेपाल ओलम्पिक कमिटिलाई पत्र लेख्दै मार्चका लागि निर्धारण गरेको मितिमा प्रतियोगिता आयोजना गर्न नसकिने स्पष्ट पार्दै सेप्टेम्बरका लागि नयाँ मिति तोक्न पहल गर्न आग्रह गरेको थियो ।
एनओसीले सरकारको प्रस्ताव अनुसार नयाँ मितिका बिषयमा दक्षिण एसियाली राष्ट्रसंग अनौपचारिक संवाद अघि बढाईरहेको छ । तर सदस्य राष्ट्रले पटक पटक स्थगित हुँदै आएको सागको मिति सेप्टेम्बर महिनामै हुनेमा आशंका व्यक्ति गर्दै आएका छन् ।