काठमाडौं। भक्तपुर ५ ले चौथो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा भक्तपुर ५ का दिया देउला, नर्मदा खाइतु, समिरा सैजु, साइना लिबी र काजलकुमारी सम्मिलित टोलीले काठमाडौं २ का शुभश्री श्रेष्ठ, रविना महर्जन र आर्सिया मानन्धरको टोलीलाई ३–१ ले पराजित गरे । भक्तपुर २ र ललितपुर १२ ले संयुक्त रुपमा तेश्रो स्थानमा चित्त बुझाए ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा स्पिन इभेन्ट प्रा।लि। द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौं २९ की इन्दिरा पौडेल पराजुली पहिलो भइन् । इन्दिराले फाइनलमा ललितपुर ११ की सर्मिला शाक्यलाई १२–१०, ११–७ र ११–८ को सोझो सेटमा हराइन् । काठमाडौं २९ की सम्झना पोखरेल र ललिपतुर ९ की विजेता व्यञ्जन्कार तेश्रो बने ।
मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा करिब ४ सय ५० खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।