काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को टिकेटिङ अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेण्डर प्रक्रियामार्फत् ८० लाख रुपियामा लिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले यो साफबाट समग्रमा १ करोड ७ लाख रुपिया कमाउने भएको छ ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा मंगलबार भएको टिकेटिङ अधिकार बिक्रीको सम्झौता–पत्रमा एन्फाका महासचिव किरण राई र माउन्ट एभरेष्ट स्पोर्ट्स एन्ड इभेन्ट्सका सीईओ थम्मन भुसालले हस्ताक्षर गरे । एन्फाले एडी रिलिजलाई टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल अधिकार २५ लाख रुपियामा बिक्री गरिसकेको छ ।
त्यसर्थ, एन्फाले सातौं साफ महिला च्याम्पियनसिपको टिकेटिङ, टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल अधिकार बिक्रीबाटमात्रै १ करोड ५ लाख रुपिया आर्जन गर्ने भएको छ, जुन छैटौं संस्करणको तुलनामा ४२ लाख बृद्धि भएको हो । काठमाडौंमै दुई वर्षअघि भएको छैटौं संस्करणको टिकेटिङ, ब्रोडकास्टिङ र मार्केटिङ अधिकार एन्फाले हन्ड्रेड स्पोर्ट्स म्यानेजमेन्टलाई ६३ लाख रुपियामा बिक्री गरेको थियो ।
सम्झौतापछि सीईओ भुसालले भने, ‘नेपालमा महिला फुटबल निक्कै लोकप्रिय छ र टिमले पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । त्यसैले महिला फुटबललाई साथ दिनको लागि यो साफको टिकेटिङ राइट्समा ८० लाख रुपिया लगानी गरिएको हो । यसले नेपाली फुटबललाई व्यावसायिक बाटोमा अगाडि बढाउन सहयोग गर्ने विश्वास छ ।’
योपालि एन्फाले रंगशालामा फुड स्टल २ लाख रुपियामा शिवांश फुड एन्ड वेभरेजलाई दिएको छ । त्यसैले एन्फाले सातौं साफ महिला च्याम्पियनसिपबाट कुल १ करोड ७ लाख रुपिया आर्जन गर्ने भएको छ ।
७ टिम, १२ खेल
सातौं साफमा १२ खेल सञ्चालन हुनेछन् । लिग चरणमा नौ, सेमिफाइनलमा दुई तथा फाइनलमा एक खेल हुनेछन् । यी सबै खेल कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन गरिनेछ । वैकल्पिक मैदानको रुपमा एन्फा कम्प्लेक्स, सातदोबाटो रहेको छ ।
साफमा लगातार दोस्रोपल्ट दक्षिण एसियाली सातै देशका टिमले प्रतिस्पर्धा गर्दैछन् । डिफेन्डिङ च्याम्पियन बंगलादेश, कीर्तिमान पाँचपल्टको विजेता भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने घरेलु टिम नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटानले समूह ‘बी’ मा प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
भुटान बुधबार आइपुग्ने छ । बाँकी सबै टिम काठमाडौं ओर्लिसकेका छन् ।
साफ महिला लगातार तेस्रोपल्ट नेपालमा
नेपालले लगातार तेस्रोपल्ट साफ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । सन् २०१० मा कक्सबजार, बंगलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करण विराटनगर ९२०१९० मा भएको थियो भने छैटौं संस्करण २०२२ ९काठमाडौं० मा आयोजना गरिएको थियो ।
नेपाली टिम सातमध्ये ६ संस्करणको उपविजेता पनि हो । दशरथ रंगशालामा भएको दुई वर्षअघिको फाइनलमा नेपाललाई ३–१ ले हराएर बंगलादेश पहिलोपल्ट साफ च्याम्पियन भएको थियो । सुरुका पाँच संस्करणमा भारत च्याम्पियन भएको थियो ।
बजेट ४ करोड ६० हजार
एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै ४ करोड ६० हजार ८ सय रुपिया बजेटमा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जनाएको छ । दुई वर्षअघिको साफ ३ करोड ४७ लाखको बजेटमा सञ्चालन गरिएको थियो ।
२९ असोज २०८१