अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

काठमाडौं। ‘ए’ डिभिजन लिग स्थगित गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयले असन्तुष्ट खेलाडीहरू बिहीबार सडकमा उत्रिए।
तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्सअगाडि खेलाडीहरूले ‘लिग गर’ भन्दै नारा लगाइरहँदा एन्फाको प्रमुख नेतृत्व भने उपस्थित थिएनन्। नेपाल खेलाडी संघको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी खेलाडीहरूले लिग स्थगनलाई आफ्नो करियरमाथिको प्रहार भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरे।
उनीहरूले दुई वर्षदेखि निरन्तर संवाद र माग राख्दा पनि एन्फाले कुनै ठोस कदम नचालेपछि आफूहरू सडकमा आउन बाध्य भएक बताए। तर, विरोध भइरहेको बेला एन्फा भवनभित्र शून्यता थियो। अध्यक्ष पंकजविक्रम नेम्वाङ ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको दौडाहामा बाहिर रहेका छन्।
महासचिव किरण राई हेटौंडामा एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन कार्यक्रममा सहभागी थिए। ‘अध्यक्षज्यू बेलुका वा भोलिसम्म फर्किनुहुनेछ, अन्य पदाधिकारीहरू पनि सोही कार्यक्रममा छन्,’ एन्फा प्रवक्ता सुरेश शाहले भने।
गत सोमबार मात्र एन्फा पदाधिकारी र क्लब अध्यक्षबीचको बैठकले आगामी वर्षको पुस ३ देखि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेको थियो। तर, यो सहमति पनि खेलाडीका लागि सान्त्वनाभन्दा बढी बनेन। किनभने त्यो मिति अझै एक वर्षभन्दा बढी टाढा छ।
२०७९ सालमा चर्च ब्वाइज युनाइटेडले अन्तिम पटक ‘ए’ डिभिजन उपाधि जितेको थियो। त्यसयता लिग ठप्प छ। मैदानमा नखेल्ने अवस्थाले खेलाडीहरूलाई पेशागत र आर्थिक संकटमा पुर्याएको उनीहरूको गुनासो छ।
विरोधका बीच प्रवक्ता शाहले उपलब्ध प्रतिनिधिका हैसियतमा खेलाडीहरूलाई वार्ताका लागि आग्रह गरे। ‘हामी त्रिपक्षीय छलफल (खेलाडी, क्लब र एन्फा) गर्न तयार छौं। खेलाडीहरूको सन्देश म जिम्मेवार नेतृत्वसम्म पुर्याउनेछु,’ उनले भने।






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

