विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

झापा। विमला चौधरीको सानदार ह्याट्रिकसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
दुधे रंगशालामा बिहीबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले आरएस पोखरा एफसीलाई एकतर्फी खेलमा ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
आर्मीका लागि विमला चौधरीले तीन गोल, विमला विक, जेनिफर राना र शर्मिला थापाले समान एक–एक गोल गरे। खेलको सुरुआतदेखि नै बल पोजेसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गरिरह्यो।
खेलको १६औं मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर रानामगरले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। सो फ्रिकिक उषा शाहीले दीपा राईमाथि गरेको फाउलपछि प्राप्त भएको थियो।
३३औं मिनेटमा पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै विमलाले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन्। यसमा हिमा चौधरीले असिस्ट गरेकी थिइन्।
पहिलो हाफको इन्ज्युरी समयमा विमला विकले कर्नरबाट आएको बलमा सानदार फिनिसिङ गर्दै आर्मीलाई ३–० को सहज अग्रता दिलाइन्। दोस्रो हाफमा पनि खेलको गति आर्मीले नै नियन्त्रणमा राख्यो। ८५औं मिनेटमा विमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ४–० बनाइन्।
९०औं मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै आर्मीको अग्रता ५–० पुर्याइन्। इन्ज्युरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६–० को जित दिलाइन्।
खेलकी ‘प्लेयर अफ द म्याच’ विमला चौधरी घोषित भइन्। उनले १५ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरिन्। यससँगै झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।
पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा फुटबल क्लब आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।








-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)