एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अर्जुन काफ्ले, पथरी (मोरङ)। आयोजक पथरी ११ फुटबल क्लब ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको अन्तिम सेमिफाइनलमा घरेलु दर्शकको जोश र समर्थनका बीच पथरीका सौर्य राउतले निर्णायक गोल गर्दै टिमलाई सनसनीपूर्ण जित दिलाए।
उनले खेलको २५औं मिनेटमा रिबाउन्डमा आएको बललाई करिब २५ यार्ड टाढाबाट कडा प्रहार गर्दै गोलमा परिणत गरेका थिए। खेलको पहिलो हाफमा बराबरी स्तरको खेल देखिएको भए पनि दोस्रो हाफमा एनआरटीले लगातार आक्रमण गरेर बराबरी गर्ने प्रयास गरेको थियो। तर, पथरी ११ का गोलकिपर समीर क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै सम्भावित गोलका अवसरहरू बचाए।
६५औं मिनेटमा पथरीका मिक्सेन दासले वान–भर्सेस–वानको सुनौलो मौका गुमाए। त्यसपछि दुबै टोलीले थप गोलका लागि प्रयास गरे पनि खेलको बाँकी समयमा कुनै गोल हुन सकेन र पथरी ११ ले १–० को जित निकाल्दै फाइनलको यात्रा तय गर्यो।
अतिरिक्त समयमा एनआरटीका विवेक गुरुङ दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि टिम १० खेलाडीमा सीमित भएको थियो। खेलमा निर्णायक गोल गर्ने सौर्य राउत म्यान अफ द म्याच घोषित भए।
खेलपछि एनआरटीका प्रशिक्षक श्याम मालीले भने,‘घरेलु टोलीले राम्रो खेल्यो। पहिलो खेलका केही मुख्य खेलाडी उपलब्ध नहुँदा र खेलाडीहरूले योजना अनुसार प्रदर्शन गर्न नसक्दा नतिजा हाम्रो पक्षमा आउन सकेन।’
त्यस्तै आयोजक पथरी ११ का प्रशिक्षक अर्जुन बस्नेतले भने,‘स्थानीय खेलाडीहरुकै संयोजनमा मैदान उत्रिएको टिमले राम्रो तालमेल देखायो। ए डिभिजन क्लबलाई हराउनु हाम्रो लागि ठूलो उपलब्धि हो।’ उनले केही अवसर गुमाउँदा पनि साधुरो जित निकाल्न सफल भएको बताए।
पथरी ११ अब आउँदो शनिबार फाइनलमा सिरहाको सलहेस युथ क्लबसँग उपाधिका लागि भिड्नेछ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)