काठमाडौं । चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कात्तिक ५ गतेदेखि हुने भएको छ ।
वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा हुने प्रतियोगिता कात्तिकको पहिलो हप्ता हुने भएको हो ।
६ दिने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स÷डबल्समा खेल हुनेछ ।
जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र खुला डबल्समा प्रतिस्पर्धा हुनेछ । जुनियरमा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुनेछ ।