सर्लाही । फुटबल मैदान बनाउने क्रममा करेन्ट लागेर निधन भएका फुटबल प्रशिक्षक सन्तोष श्रेष्ठको परिवारलाई अखिल नेपाल फुटबल संघ एन्फाले आर्थिक सहयोग गरेको छ ।
एन्फाले दिवंगत प्रशिक्षक सन्तोषको १३ औँ पुण्य तिथीको अवसरमा उनको परिवारलाई आर्थिक सहयोग गरेको हो । एन्फा सदस्य दावा लामाले दिवंगत प्रशिक्षक सन्तोषको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको बताए ।
एन्फाको प्रतिनिधित्व गरेर सर्लाही पुगेका लामाले श्रेष्ठका पिता राम कुमार र माता अम्वि माया श्रेष्ठलाई ५० हजार नगद, कदर पत्र र नेपाल राष्ट्रिय फुटबल टिमको जर्सी उपलब्ध गराएका थिए । लामाले एन्फाको कार्यसमितिको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय अनुसार सहयोग गरेको बताए ।
बागमती युवा क्लबका सदस्य तथा ग्रासरुट प्रशिक्षक समेत रहेका श्रेष्ठको स्मृतिमा क्लबले अन्तराष्ट्रिय फुटबल महिला प्रतियोगिता गर्ने समेत जनाएको छ ।