पोखरा। पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने घोषणा गरेको छ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले पलेशालाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन्। खेलाडीले राष्ट्र नामलाई अग्रस्थानमा राख्न अहम् भूमिका खेल्ने गरेका छन्। यसमा कुनै पनि राजनीतिक पार्टी, धर्मसंस्कृति, जातजातिको भन्ने नभई सबैको साझा खेलाडी हुने छ, उनले भने।
गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघद्वारा पोखरा रंगशालामा आइतबार आयोजित कार्यक्रममा पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्यामकृष्ण श्रेष्ठलाई सम्मान पनि गरिएको थियो।
पलेशालाई गण्डकी प्रदेश सरकारले एक लाख ५० हजार र पोखरा महानगर पालिकाले दुई लाख दुई हजार २२२ रुपैयाँसहित सम्मान गरेको हो। त्यसैगरी कास्की जिल्ला तेक्वान्दो संघले५० हजार पाँच सयसहित पलेशालाई सम्मान गर्यो।
नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी पलेशाले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन्। ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्।