काठमाडौं । सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा गर्न नसक्ने निष्कर्श निकालेको छ । मार्चका लागि तय भएको प्रतियोगिता निर्धारित समयमा गर्न नसक्ने सरकारले जनाएको हो ।
मिति नजिकिदै जादाँ नेपाल ओलम्पिक कमिटि एनओसीले प्रतियोगिताको तयारीको अवस्थाका बिषयमा युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो ।
खेलकुद मन्त्रालयले एनओसीलाई पत्र लेख्दै प्रतियोगिता निर्धारित समयमा गर्न नसकिने र सेप्टेम्बरका लागि सरकार तयार भएको बताएको छ ।
‘मार्चको तयारीले पुगेन । सेप्टेम्बरमा गर्न सक्छौ भनेर सरकारले भनेको छ ।’ नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले भने, ‘सोही अनुसार मिति तोक्ने बिषयमा पहल गर्न सरकारको आग्रह छ ।’
साउथ एसियन काउन्सिलका तर्फबाट नयाँ मिति तोक्ने बिषयमा एनओसीले नऔपचारिक रुपमा सदस्य राष्ट्रसंग छलफल गरिरहेको छ ।
‘मार्च २ र ३ मा एसियन ओलम्पिक कमिटिको बैठक छ । त्यही समय साउथ एसियन ओलम्पिक कमिटिको बैठक राख्ने बिषयमा छलफल चलिरहेको छ ।’ एनओसी अध्यक्ष श्रेष्ठले भने, सेप्टेम्बरमा प्रतियोगिता हुने सुनिश्चितता सदस्य राष्ट्रले मागेका छन् ।
यस बर्ष प्रतियोगिताको सुनिश्चितता गर्न नसकेको खण्डमा १३ औ साग आयोजनाको अवसर सरकारले गुमाउने श्रेष्ठको भनाई छ ।
‘यो बर्ष भएन भने साग गर्न नेपालमा असम्भव छ ।’ उनले भने ।