काठमाडौं। १९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउने महिला कबड्डी वर्षको उत्कृष्ट टोली घोषित भएको छ।
शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत टोलीले उक्त अवार्ड हात पारेको हो। गत असोजमा चीनको होन्झाउमा सम्पन्न खेलमा नेपाली टोली सेमिफाइनलमा पुगेको थियो।
चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएक सेमिफाइनलमा भारतसँग नेपाल ६१–१७ ले पराजित भएको थियो। हारसँगै नेपाल कांस्य पदक जित्न सफल भएको थियो।
नेपाल समूह ‘बी’ को लिग खेलमा बंगलादेशविरुद्ध ३७–२४ ले विजयी भएको थियो। यद्यपि, डिफेन्डिङ च्याम्पियन इरानसँग भने ४३–१९ ले पराजित भएको थियो।
त्यो नतिजाबाट नेपाल समूह उपविजेता हुँदै सेमिफाइनल पुगेको थियो। त्यसैले भारतसँग खेल्नुअगावै कम्तीमा कांस्य सुनिश्चित गरिसकेको थियो।
कबड्डी टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, ईशा राई, अर्पणा चौधरी, सिर्जना थारू र कलावती पन्त रहेका थिए। टोली पहिलो सहभागितामै पदक जित्न सफल भएको थियो।