काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले दक्षिण एसियाली खेलकुद (साग) र एसियन गेम्समा पदक जित्ने खेल संघलाई सम्मान गरेको छ ।
एनओसीले आफ्नो नवौं साधारणसभाको दौरान पदक जित्ने संघहरुलाई एनओसी एक्सिलेन्सी अवार्डबाट सम्मान गरेको हो ।
१२ औं दक्षिण एसियाली खेलकुदमा नेपालको तीन खेलले स्वर्ण, ३ खेलले रजत र ११ खेलले कास्य जितेको थियो । भारतमा सम्पन्न सागमा नेपालले फुटबल, उसु र जुडोले स्वर्ण जितेको थियो ।
नेपालले सागमा ट्राइथोलन, तेक्वान्दो र पौडीतर्फ रजत जितेको थियो । यस्तै भलिबल, आर्चरी, एथलेटिक्स, हक्की, बक्सिङ, ब्याडमिन्टन, कब्बडी, खो खो, टेबल टेनिस, भारोत्तोलन र कुस्तीमा कास्य जितेको थियो । सागमा पदक जित्ने संघलाई सम्मान पत्रले सम्मानित गरेको हो ।
यस्तै इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा नेपालको प्याराग्लाइडिङको पुरुष टिम क्रस क्रन्टिमा रजत जितेको थियो । ओलम्पिकले एसियन गेममा पदक जित्ने प्याराग्लाइडिङलाई भने २० हजार नगदसहित सम्मान गरेको हो ।
त्यस्तै एनओसीले फोटो जोर्नालिस्ट क्लब (पिजे) र नेपाल खेलकुद पत्रकार मंचलाई नगद ५०-५० हजारसहित सम्मान गरेको छ ।
संघलाई एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ, मानार्थ अध्यक्ष ध्रुब बहादुर प्रधान लगायतले सम्मन गरे ।