काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो प्रसंग कोट्याउँदै नेपालीले गर्न नसक्ने भन्ने केही नभएको बताएका छन्।
उनले राष्ट्रिय खेलकुद परिषदको ६१ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बुधबार भने, ‘नेपालीले गर्न नसक्ने भन्ने केही छैन। मैले पहिला क्रिकेटमा भनेको थिएँ, मौका पायो कि नेपालीले गर्छ। मौका नपाएर हामी चुकिरहेका छौं। मौका पायो कि नेपाली गर्छ। वास्तवमा हामीले जित्न नसक्ने कुनै कारण छैन।’
‘हामीसँग पर्याप्त साधन–स्रोत छैन। सुविधा छैन। सरकार पनि अप्ठ्यारो स्थितिमा छ। तैपनि हामीले सक्दो खेलकुदका निम्ति छुट्याउने कोसिस गरेका छौं,’ परिषदका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘म अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा पनि भुइँचालोले रंगशाला भत्काएर खत्तम थियो। १३ औं साग (दक्षिण एसियाली खेलकुद) लाई छिटोछिटो रंगशाला बनाउनु थियो। बनायौं। खेलका लागि विद्यार्थीहरूलाई ट्रेनिङ पनि त्यसैगरि उपलब्ध गरायौं।’
एनले थपे, ‘त्यसलाई मैले के फरक देखें भने खेलाडीहरूलाई प्रोत्साहित मात्रै गर्यो भने त्यही खाना खाएर त्यस्तैत्यस्तै परिस्थितिमा अझ राम्ररी ट्रेनिङ गरेर ट्रेनिङ र मनोबलकै भरमा पनि १२ औं सागमा हामीले ३ वटा स्वर्णपदक ल्याएका थियौं भने १३ औं सागमा पुग्दा ५१ वटा स्वर्णपदक ल्यायौं। यो साधारण कुरा थिएन।’
देश र खेल संघले प्रतिष्ठित् र बृहत् खेलकुद प्रतियोगितालाई प्राथमिकता दिनुपर्ने उल्ल्ेख गर्दै उनले भने, ‘अब हाम्रो टार्गेट जापानको एसियन गेम्स (सन् २०२६) हुनुपर्दछ। ओलम्पिक (२०२८) टार्गेट हुनुपर्दछ। साउथ एसियन गेम्स हुनुपर्दछ। यस्तै पारा ओलम्पिक गेम्स या क्षेत्रगत खेल विशेष कहाँ कुन कुन विधाका हुन्छन्, त्यसलाई टार्गेट गरिगरि कहाँ कहाँ खेल हुँदैछ र त्यहाँ कुन कुन खेलाडी सहभागि हुँदैछन्, तिनीहरूको खेल कस्तो छ, तिनीहरूको सबल पक्ष के हो, त्यसलाई पराजित गर्नका लागि के कमजोर पक्षलाई सबल पक्षमा परिणत गर्नुपर्छ भन्ने कुरा हेरेर अनि तुलनात्मक अध्ययनपछि त्यसअनुसारको तालिम र अभ्यासबाट जित्ने तयारी गर्नुपर्छ। मलाई लाग्छ हाम्रा खेलाडीहरूले जित्नुहुनेछ। जित्दैजानेछ। धेरैधेरै शुभकामना भन्न चाहान्छु।