काठमाडौं। हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाड २०२४ मा सहभागिता जनाउन जान लागेको नेपाली टोलीलाई जर्मन राजदूतावासले भिसा दिन अस्वीकार गरेको छ।
प्रतियोगिता बुडापेस्टमा सेप्टेम्बर १० देखि २३ सम्म आयोजना हुने तय छ। यसैका लागि बुधबार नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धर्मबहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्यहरू राजु ताम्राकार र खेलाडीसहित २१ जना भिसा लिन दूतावास पुगेका थिए। तर, नेपाल फर्किने ग्यारेन्टी नभएको भन्दै उनीहरूलाई भिसा दिन अस्वीकार गरेको हो।
‘नेपाली खेलकुदलाई हेर्ने दृष्टिकोण फरक छ। त्यसैले उहाँहरूले भिसा दिन अस्वीकार गर्नुभएको हो,’ महासचिव लामाले खेलपाटीसँग भने। प्रतियोगितामा रिया श्रेष्ठ, कृतिसरा अधिकारी, सिन्दिरा जोशी, पूजा भण्डारी र शान्ति धिमालले महिलातर्फ प्रतिस्पर्धा गर्ने तय थियो।
यस्तै, पुरुषतर्फ विवेक थिङ, क्षितीज भण्डारी, रुपेश जैसवाल, राष्ट्रिय च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहालले सहभागिता जनाउन लागेका थिए।
नेपालमा हंगेरीको दूतावास नभएको कारण जर्मनीको दूतावासबाट भिसा लिने प्रयास गरेको लामाले सुनाए। तर, दूतावासले भिसा दिन अस्वीकार गरेपछि थप अन्यौलता थपिएको छ। ‘नेपालबाट दिन अस्वीकार गरेपछि हामीले भारतबाट प्रयास गरेका छौं। हेरौं के हुन्छ। त्यसपछि मात्रै हामी निर्णाय गर्छौं,’ उनले भने।