मेचीनगर । राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् । झापा जिल्लास्थित मेचीनगर नगरपालिका, काँकडभिट्टामा आज सम्पन्न चार दिने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी पुरुषोत्तमले उपाधि आफ्नो नाम गरेका हुन्।
छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताका विजेता १९३७ रेटेड पुरुषोत्तम चौलागाईंले सात चरणको क्लासिकल खेल मध्ये ५ जित २ बराबरी खेल्दै अपराजित ६ अंक जोडेका हुन्। चौलागाईंले २१७७ रेटिङ्ग पर्फोम गर्दै प्रथम पुरस्कार ५० हजार हात पारे।
राजेन्द्र राईले ५.५ अंक बनाएर द्वितीय स्थानमा रहँदै २५ हजार प्राप्त गरे। समान ५.५ अंक जोडेका धिरेन राई डाइरेक्ट इन्काउन्टर , बुकोल्ज वान टु र मोष्ट वीन नियमका आधारमा तृतीय स्थानमा चित्त बुझाउँदै १५ हजार प्राप्त गरे।
आशिष् फूँयाल चौथो हुँदै १२ हजार , पूर्व विजेता सिएम कृष्ण थापा पाचौं बन्दै १० हजार , नीलम बस्नेत छैटौं ८ हजार , विकास मैनाली सातौं ६ हजार , प्रेम लिम्बू आठौं, सुरोज महर्जन नवौं र वलिमान गुरुङ दशौं स्थानकाले ५ हजार पुरस्कार प्राप्त गरे।
१७०० मुनिको विधामा २३६२ रेटिङ्ग पर्फोमेन्स गर्दै रञ्जित राई प्रथम बन्न सफल भए। व्यक्तिगत १६९९ रेटिङ्गबाट खेल प्रारम्भ गरेका राईले ६५.२ रेटिङ्ग बढाउँदै सबै खेल जिते र रु. ५० हजार हात गरे।
९ चरणको प्रतिस्पर्धामा रामहरि कार्की द्वितीय हुँदै २५ हजार, कपिल गुरुङ तृतीय बन्दै १५ हजार, महिला खेलाडी पूजा भण्डारी चौथो स्थानमा रहँदै १२ हजार, शुभम् कुमार बिक पाँचौं हुँदै १० हजार प्राप्त गरेका छन्। यस्तै, रोशन खड्गी छैठौं ८ हजार, कृष्णप्रसाद सिग्देल सातौं ६ हजार, सुरज सिंह आठौं, खिलराज राई नवौं र राजन पहाडी दशौं स्थानमा रहँदै ५ हजार पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।