काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले संघको मानार्थ पद खारेज गर्ने निर्णय गरेको छ । काठमाडौंमा बिहिबार बसेको एन्फाको कार्य समिति बैठकले टासी घलेलाई मनोनित गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको हो ।
‘संघको मानार्थ पदलाई खारेज गर्ने निर्णय भएको छ ।’ बैठक स्रोतले खेलपाटीसंग भन्यो ।
वर्तमान कार्यसमितिले निर्वाचन लगत्तै टासी घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । कर्माछिरिङ शेर्पा प्यानललाई निर्वाचनमा जिताउन मुख्य योजनाकारको भुमिका निर्वाह गरेको भन्दै टासीलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको थियो ।
तर नयाँ नेतृत्वसंग मानार्थ अध्यक्ष टासीले अन्तराष्ट्रिय विभागको जिम्मेवारी दिन आग्रह गर्दै आएका थिए । चुनावका मुख्य योजनाकार टासीलाई पन्छाउँदै नविन पाण्डेलाई अन्तराष्ट्रिय विभाग प्रमुखमा नियुक्त गरेपछि टासी एन्फा नेतृत्वसंग रुष्ट देखिएका थिए ।
पछिल्लो समय संघको वर्तमान कार्यसमितिविरुद्व भएका आन्दोनलमा टासीको हात रहेको अनुमान एन्फा नेतृत्वले गर्दै आएको छ ।
चार जिल्ला फुटबल संघ एन्फा नेतृत्वविरुद्व चरणबद्व आन्दोलनको घोषणा गरेपछि कार्यसमितिले मानार्थ पदलाईनै खारेज गर्ने निर्णय गरेको हो ।