काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा बिहीबार नेपाल र श्रीलंका भिड्दैछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल दिउँसो ३: १५ बजे सुरु हुनेछ। आयोजक नेपालले उपाधि जित्नेमा टोली आत्मविश्वासी रहेको बताएको छ।
कप्तान अरूणा शाहीले रसियासँगको दुई मैत्रीपूर्ण खेलबाट कमीकमजोरी सुधारेको बताइन्। त्यस्तै, करिब एक महिनाको लामो तयारीले गर्दा पनि आफ्नो टोली अझ बलियो भएको उनको भनाइ थियो।
‘रसियासँग खेलेपछिको पछिल्लो ब्लक, डिफेन्स र सर्भिसमा प्रशिक्षण केन्द्रित रह्यौं। सहभागी अन्य राष्ट्र बलियो भएपनि उत्कृष्ट प्रदर्शनकासाथ खेल आफ्नो पक्षमा पार्ने टिमको योजना छ,’ उनले भनिन्।
श्रीलंका पनि तीन महिनाको लामो तयारी गरेर नेपाल आएको कप्तान थिलिनी परेराले बताइन्। तर, पहिलो खेल घरेलु टोली नेपालविरूद्ध भएकोले प्रेसर फिल गरेको उनले सुनाइन्।
सात दिन चल्ने प्रतियोगितामा नेपाल र श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन्। बिहीबार नै भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ। नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग खेल्नेछ। त्यस्तै, तेस्रो खेल साउन २० गते माल्दिभ्स र लिगचरणको अन्तिम खेल साउन २१ गते इरानसँग खेल्नेछ।
प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ। राउन्ड रोबिन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन्।