काठमाडौं। काभा बिच भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपालले बिहीबार पहिलो खेल माल्दिभ्ससँग खेल्दैछ। यस्तै, महिलातर्फ नेपालले उज्बेकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा हुने पुरुषतर्फको खेल दिउँसो २:३० बजे सुरु हुनेछ। महिलातर्फको खेल भने दिउँसो ३:३० बजे सुरु हुनेछ।
शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालबाट मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले सहभागिता जनाउने छन्। महिला टोलीमा कमला पुन र मनीषा चौधरी छन्।
सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) ले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ नेपाल र माल्दिभ्ससहित उब्जेकिस्तान, तुर्केमेनिस्तान र भुटानले प्रतिस्पर्धा गर्नेछन्।