काठमाडौं। नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले पहिलोपल्ट ओलम्पिकमा सहभागिता जनाउँदा धेरै कुरा सुधार गर्नुपर्ने आवश्यक रहेको देखिएको बताएका छन्।
मेन्स सिंगल्सतर्फ समूह ‘पी’ को आफ्नो अन्तिम खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित हुँदै प्रिन्स जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिए। यसअघिका दुई खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सन र आयरल्यान्डका हात गुएन २–० ले पराजित भएका थिए।
‘यो मेरो लागि एकदम महत्त्वपूर्ण रह्यो। यस ओलम्पिकबाट धेरै कुरा सिकें। ममा स्ट्रेन्थको ल्याक रहेको, सटहरूमा सुधार गर्नुपर्ने र अझै धेरै प्रतियोगिता खेल्नुपर्ने रहेछ भन्ने बुझें,’ उनले भने। यो ओलम्पिकमा बटुलेको अनुभवले अर्को ओलम्पिकका लागि धेरै सहयोग पुग्ने उनले बताए।
यद्यपि, प्रशिक्षण र प्रतियोगिता नियमित भइरहन आवश्यक रहेको उनले बताए। ‘प्रतियोगिताहरू नेपालमा कम भइरहेको छजस्तो लाग्छ। अहिले मैले खेलेकाहरूले धेरै प्रतियोगिता खेलेका छन्। त्यसैले उनीहरूमा अनुभव धेरै रहेको छ,’ उनले भने। अन्तिम खेलमा आफूले आफैंलाई मटिभेट गरेर खेलेको उनले सुनाए। अब ब्याडमिन्टनमा व्यक्तिले भन्दा पनि सरकारले सहयोग गर्नुपर्ने उनले बताए।