पेरिस। नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन्।
फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे।
गुएनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो। पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चे।
प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रो सेटमा ४ अंक जोडेका थिए। आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए। गुएनको ओलम्पिकमा यो लगातार दोस्रो सहभागिता हो। उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए।
विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो। समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा चुकेका थिए।
समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८ औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसंग बुधबार प्रतिस्पर्धा गर्ने छन्। कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित चार खेलाडी छन्।
ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो।