काठमाडौं। नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ को समूहचरणको दोस्रो खेलमा आयरल्यान्डका एनहात गुएनसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
मेन्स सिंगल्सको समूह ‘पी’ मा रहेका प्रिन्स र गुएनबीचको खेल फ्रान्सको स्थानीय समय अनुसार राति ९:१० बजे हुने छ। नेपाली समयअनुसार भने पौने १२ बजे यो खेल हुनेछ ।
शनिबार राति भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग उनी सहजै पराजित भएका थिए। दुई सेट खेलका प्रिन्सले भिक्टरलाई चुनौती दिन सकेनन्। पहिलो सेट २१-८ ले गुमाए। दोस्रो सेटमा पनि उनी २१-६ ले पराजित भए।
पहिलो हारसँगै उनको अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ। उनले समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन्। १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन्।