काठमाडौं। नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार पाहुना टोली रसियनसँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुने खेलमा नेपाल सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
पहिलो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको थियोे। यश खेलमा नेपाल रिसिभ, ब्लक र सर्भिस सबै क्षेत्रमा चुकेको थियो।
प्रशिक्षक जगदीश भट्टले रसिया माथिल्लो लेभलको टोली भएको बताए। उनीहरूको उचाइ पनि राम्रो भएको कारण नेपालले राम्रो प्रदर्शन गर्न नसकेको बताए। यद्यपि, यो काभा भलिबल लिगको तयारीस्वरूप खेलिएको भएर सुधारिएको खेल प्रदर्शन गर्ने बताए।
‘उनीहरूको उचाइले गर्दा पनि खेलमा फरक पर्यो। हामीले राम्रो रिसिभ पनि गर्न सकेनौं। तर, दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्छाैं भन्नेमा अपेक्षा छ,’ उनले भने।
पहिलो सेट रसियाले २५–१७ ले जितेको थियो। त्यसपछिका दुई सेटमा पनि नेपालले चुनौती दिन सकेन र २५–१९, २५–१५ ले खेल गुमायो।
नेपालले काभा नेसन्स लिगका तयारीस्वरुप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो। साउन १७ गतेदेखि राखेप कभर्ड हलमा सुरु हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्। नेपालले रसियासँग दोस्रो खेल सोमबार खेल्नेछ।