काठमाडौं। नेपालले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न सोमबार किर्गिस्तानको सामना गर्दैछ।
लिगको अन्तिम खेलमा श्रीलंकाले किर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको थियो।
लिगमा अपराजित श्रीलंका तीन खेल जित्दै आठ अंक जोडेर शीर्ष स्थानमा रह्यो। दुई जित र एक हारबाट पाँच अंक जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अंकसहित तेस्रो स्थानमा रह्यो। सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो।
लिगमा पहिलो श्रीलंका र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ। त्यस्तै, दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाइनल हुनेछ। पहिलो सेमिफाइनल स्थानीय समयअनुसार ४ बजे हुनेछ।
यस्तै नेपाल र किर्गिस्तानबीचको दोस्रो सेमिफाइनल राति स्थानीय समय ८:३० तथा नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ। नेपाल लिग चरणमा किर्गिस्तानविरुद्ध सोझो सेटमा पराजित भएको थियो। सेमिफाइनलमा त्यो हारको बदला लिँदै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल हुनेछ।