काठमाडौं। नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ को समूह चरणमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनविरुद्ध खेल्ने भएको छ।
क्वाललम्पुरमा शुक्रबार आयोजित समूह विभाजनमा प्रिन्स र डेनमार्कका भिक्टर पुरुष सिंगल्समा एउटै समूहमा परेका हुन्। यी दुईसँगै समूह ‘पी’ मा आयरल्यान्डका नियात न्युयेन र इजरायलका मिसा जिल्बरम्यान छन्। १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन्।
१९ वर्षीया प्रिन्स ब्याडमिन्टनमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुँदैछन्। उनले यो अवसर युनिभर्सालिटी कोटामा पाएका हुन्। जुनियरमा विश्व नम्बर १ भएका उनी विश्व ब्याडमिन्टन महासंघको वरीयतामा अहिले १७२ औं स्थानमा छन्। ओलम्पिकमा समूहका तीनै प्रतिस्पर्धी उनीभन्दा माथि छन्।
३० वर्षीय भिक्टर विश्वकै शीर्ष वरीयतामा पुगिसकेका खेलाडी हुन्। उनी अहिले दोस्रो वरीयतामा छन्। टोकियो ओलम्पिक २०२० को फाइनलमा चीनका चेन लोङलाई पराजित गर्दै पुरुष सिंगल्सको स्वर्णपदक जितेका भिक्टर दुईपल्टका विश्व च्याम्पियनसिपका विजेता पनि हुन्। चेनले रियो २०१६ मा स्वर्ण जित्दा भिक्टरले त्यहाँ कांस्यपदक हात पारेका थिए।
इजरायलका जिल्बरम्यान निक्कै अनुभवी खेलाडी हुन्। उनी चौथोपल्ट ओलम्पिकमा सहभागि हुँदैछन्। ३३ वर्षीया उनी वरीयतामा ५९ औं स्थानमा छन्। समूहका अर्का खेलाडी २४ वर्षीया नियात ४३ औं स्थानमा छन्।
त्यसैले घरेलु प्रतियोगितामा नियमित सफलता हात पारिरहेका प्रिन्सलाई पेरिस ओलम्पिकमा सजिलो हुने छैन। ओलम्पिकमा ब्याडमिन्टनको प्रतिस्पर्धा २७ जुलाईदेखि ५ अगस्टसम्म सञ्चालन हुनेछन्।