काठमाडौं। कुशल न्यौपाने र सिर्जना चौधरीले पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । सिंगल्सको पुरुषमा कुशल तथा महिलामा सिर्जना पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा कुशलले कृष्ण दाहाललाई ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । युवराज लामा र प्रसाईं रुम्बा तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल दृष्टिविहीन टेबलटेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला सिंगल्स फाइनलमा सिर्जनाले रश्मी डंगोललाई ११–७ र ११–४ को सोझो सेटमा हराइन् । प्राप्ति उपाध्याय र संगिता घिमिरे तेश्रो बने ।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।