काठमाडौं। ट्यालेन्ट हन्ट- अल नेपाल जुनिअर ब्याडमिन्टन च्यम्पियनसिप सुरु भएको छ। अखिल नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता बुधबारदेखि सशस्त्र प्रहरी बल (एपिएफ) मुख्यालय हलचोकमा रहेको कभर्डहलमा सुरु भएको हो।
प्रतियोगितामा यु-१५ र १७ तर्फ र्याङ्किङ्ग पुरुष एकल, महिला एकल र मिक्स डबल्स गरि ६ विधामा प्रतिस्पर्धा हुनेछ। तीन दिन चल्ने प्रतियोगितामा १२७ खेलाडीले सहभागिता जनाएका छन् भने १९७ खेल हुने आयोजकले जनाएको छ।
उर्जामन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ज्वाला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एपिएफका आइजिपी राजु अर्याल र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले प्रतियोगिताको उद्घाटन गरेका थिए।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल ब्याडमिन्टन संघको विशेष सहयोगमा नेकपा (माओवादी केन्द्र )को भातृ संगठन अखिल नेपाल ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गरेको हो। यी खेलको प्रत्यक्ष प्रशारण खेलपाटीको फेसबुक पेज र नेपाल ब्याडमिन्टन संघको युट्युव च्यानलबाट हेर्न सकिने छ।